मेरो मानसपटलमा,
तिम्रो तस्विर खिचिएको छ
हाम्रो अन्तिम भेटको तस्विर
हरेक क्षण म त्यो तस्विर हेर्छु
चञ्चल मुहार, मन्द मुस्कान
मृग नयिनी आँखा
हेराइले नै घायल गर्ला जस्तो
तिम्रो तिलस्मी रुपले,
म आफै भित्र खिचिएको छु
यस्तो लाग्छ,
तिमी म भित्र समाहित भएकी छौ
वा, तिमी भित्र म समाहित भएको छु
तिमीलाई साच्चि नै देख्न पाए !
जम्काभेटको त्यो क्षण कस्तो होला ?
सासै रोकिन्छ कि ?
‘फेन्ट’ नै पो हुन्छु कि ?
साच्चै तिमी कस्ति भयौ होली ?
समय नि धेरै विति सकेछ
मुहारमा शालिनता छाउन थाल्यो होला
हल्का रेखाहरु नि कोरिन थाल्यो कि ?
आँखामा त्यो चमक कम भयो कि ?
भेट भए पछि त,
फेरि तिम्रो नयाँ तस्विर खिचिन्छ
जस्ले पुरानो तस्विरलाई,
विस्तापित गरिदिन्छ
अनि त्यो पुरानो तस्विर,
सधैंको लागि मेटिन्छ
उफ्, मनमा द्धन्द चल्न थाल्छ
हैन, त्यो तस्विर गुमाउन चाहन्न
जिवन्त राख्न चाहन्छु
तिमीलाई सधै उस्तै देख्न चाहन्छु
चञ्चल मुहार, मन्द मुस्कान
मृग नयिनी आँखा
वाह्, कति राम्री !