Tuesday, March 31, 2020

चाहना

म चाहन्छु
तिम्रा चाहना मेरा लागि होइनन्
तिम्रा शब्द, तिम्रा भावना अनि आत्मियता
मेरा लागि होइनन्
तिम्रो सपना पनि मेरा लागि होइनन्
त्यसैले त म छेक्न चाहन्छु,
ति सबै चिज जसले मेरो आभाष गराउँछ
तिम्रा चाहना छेक्न चाहन्छु
तिम्रा भावना रोक्न चाहन्छु
तिमी आत्मसाथ गर कि –
सपना त सपनै हो, यथार्थता होइन
म नजिक छु
त्यसैले त म टाढा छु
अनन्त भन्दा पनि टाढा
म तिमीलाई चाहन्छु
त्यसैले त तिमी मलाई नचाहोस् भन्ने चाहन्छु
यो मन तिमीसंग नजिक हुन चाहन्छ
त्यसैले त तिमी टाढा होऊन् भन्ने चाहन्छु
मन भित्र मायाको सागर भएर नै त  हो,
तिमीले मलाई तिरस्कार गरोस् भन्ने चाहन्छु ।

Monday, March 30, 2020

एउटा पात पनि हल्लाउन चाहदैन

शुन्य नयनका मुक भाषाहरु
मलिन मुहारबाट झल्केका अनगिन्ति रेखाहरु
माकुराको जालो झैं आफैमा बुनिदै गएर
अन्धकारले ब्याप्त रहस्यमय गुफाको आभास दिएर त होला
प्रकाशको एउटा किरण पनि छिर्न इच्छुक हुदैन

दुई अजङ्ग¨को चट्टानले थिचेको मुना झैं
आफ्नो करुणामय चित्कार बोकेर
अनि समयको निर्दयी पाइलाहरुको बोझले
अनायासै ढल्न पुग्छन क्षिण अस्थिपञ्जर
किन किन पानीको एक बिन्दु पनि छर्किन मान्दैन

कालकोठरीमा थुनिएको निर्दोष प्राणीको
मरुभुमी झैं उजाड लुटिएको जिन्दगी
तिरस्कारको ज्वालामुखीमा डुब्न विवश भएर
त्यो उष्ण तापले आकुल ब्याकुल हुँदो हो
तै पनि शितल हावाको झोंकाले एउटा पात पनि हल्लाउन चाहदैन

Sunday, March 29, 2020

अभाव

विस्मित मुद्रामा अभाव चियाउँछ
आफैमा बोझ बन्दै शून्यतामा घोरिन्छ
मानिसको मृगतृष्णालाई लाचार पशु झैं चुपचाप सहन्छ
उफ्,
जहाँ सभ्यता विकसित हुन्छ
त्यहाँ जीवनको कुनै मुल्य नै छैन
आकाश र धर्ती बीचको विशाल क्षितिज,
प्राणीको जीवनदर्शक –
अभिशप्त आत्माहरुको कोलाहल बीच मौन छ
उत्कृष्ट मौलिकताहरु शब्दजालमा बन्द रहन्छन्
या पारदर्शक आवरणबाट छिरेर जान्छ
गुनगुन मौरी भुनभनाए झैं सुनिन्छ
आपसमा कानेखुसी गरिरहन्छ
किनभने,
ती अमर कथाहरु प्राचीन भैसके
ती जीवनदर्पणहरु चकनाचुर भएर मिल्किसके
अनि,
केवल तिरस्कृत आत्माहरुको प्रतिविम्व त्यहाँ झल्किन्छ
चिसो हावा चल्छ
एउटा धुमिल बत्ति पनि निभ्छ
सुखा पातहरु जाडोले थुरर्र काम्छन्
भोको पन्छीहरु वेदनाले चिं चिं गर्न थाल्छन्
सास रोकेर अँध्यारो कुनाबाट अभाव चियाइरहेको हुन्छ ।

Saturday, March 28, 2020

पहिलो भेट

हाम्रो पहिलो भेट,
मधुर मुस्कान,
लजालु नयन,
मिठो बोली बोकेर आए उनि
कतिखेर म कायल भएँ, पत्तै पाइन
धेरै दिन म अन्योलमा परें
पछि थाहा पाएँ
यो त मायाँ पो रहेछ
मनभरी मायाँ छचल्किएर आयो
पोख्न चाहें, तर सकिन
कुन्नि किन ?
समयको हुरीले म टाढा भएँ
मनको कुरा मनमै रह्यो
मनमा नअटाएपछि,
पोख्नै पर्‍यो
मनका तरङ्गहरु कागजमा पोत्न थालें
यि नाथे शब्दहरुले मनको भावना बुझ्न नसक्दा रहेछन्
कनि कुथिकन कुँदिएको पत्र हुलाकीको जिम्मा लगाइदिएँ
पत्र पढेपछि के सोच्दा हुन् उनले
चकित पर्लान्
खुसी होलान्
रिसाउलान्
बेकार पठाएछु पत्र जस्तो लाग्यो
जे भयो भयो
जवाफ त पठाउलान् नि
जवाफको प्रतिज्ञा हुन थाल्यो, उत्सुकतापुर्वक
ओ हो, यो प्रतिज्ञा गर्न पनि कति गाह्रो
मन झन् ब्याकुल भयो
हर क्षण, हर पल सोच्न थालें
जवाफ के आउने हो ?
अस्विकार गर्लान् – एक मन भन्छ
स्विकार्न पनि त सक्छ – अर्को मन भन्छ
दिन बिते, महिना बिते
बिरुवामा नयाँ पालुवा पलाए
तर......जवाफ आएन
मन अधीर भयो
आत्मा बेचैन भयो
सम्झिन पनि सकिन
बिर्सन पनि सकिन
उफ् यो कस्तो पिडा !
मझधारमा रुमलिएको माझी झैं छटपटाइरहें
यो भुँवरीबाट उम्कन चाहन्थ्यें
अस्विकारै गरे बरु कति आनन्द हुन्थ्यो
अफसोच,
म तिरस्कारको पनि लायक भइन ।

Friday, March 27, 2020

शान्ति

आजकल हरेक बिहान उठ्दा
मनभित्र एक प्रकारको डर पैदा भैरहेको हुन्छ
आज कुन अशुभ समाचार सुन्नु पर्ने हो
त्रास छाइरहेको हुन्छ
खबरपत्रिका उठाउँदा पनि हात कामिरहेको हुन्छ
मनमनै प्रार्थना गर्छु
कुनै अप्रिय खबर पढ्नु नपरोस्
कुनै दुःखत समाचार सुन्न नपरोस्
अबफेरि,
कुनै आमा आफ्नो सन्तानको वियोगमा रुन नपरोस्
कुनै चेलीले आफ्नो अस्मिता गुमाउन नपरोस्
तर, मेरो आशा विपरित
हर दिन, हर क्षण
रोदन, चित्कार र आर्तनाद सुन्नुपरेको छ
मन अशान्त हुन्छ
म शान्तिको खोजीमा भौतारिदैं हिड्छु
हिड्दा हिड्दै मन्दिरमा पुग्छु
मन्दिर नजिकै खोला, अनि खोला पारी हरियो वन
आहा ! क्या रमणीय स्थल
हावाको मीठो झोंकाले मन शान्त हुन्छ
मन्दिरमा भक्तहरुको भिड देख्छु
भक्तिमा शक्ति हुन्छ भन्छन्
यही शक्तिले मानिस भित्रका रिस, अहङ्कार, द्वेषलाई परास्त गर्छन क्यार
राम्रै कुरो हो
म उनिहरुको नजिकै पुग्छु
मलाई उनीहरुको भक्तिपूर्ण भाव पढ्न मन लाग्छ
मेरो अगाडि उभिने भक्तले भगवानको पाउमा केही सिक्का चढाउँदै –
भगवानसँग आलिशान बङ्गलाको आशा गर्छ
दायाँ तिर उभिने अर्को भक्तले त्यसरी नै राम्रो जागिरको अपेक्षा गर्छ
मेरो कौतुहलता बढ्दै जान्छ
म भक्तहरुको अनुहार नियाल्दै जान्छु
अर्को भक्तले भगवानको आशीर्वादले विदेश जाने सपना बुनिरहेको हुन्छ
तन्नेरी देखिने एक भक्तले परीक्षामा पास हुन पाउँ भनि बिलौना गरिरहेको छ
भक्तहरुको भेषमा भिखारीहरुको पो भिड रहेछन्
यसो मुन्टो उठाएर भगवानतिर नजर पुर्‍याउँछु
भगवानको मुहार मलिन देख्छु
अरुबेलामा त तेजस्वी देखिन्थ्यो
भगवान पनि आजित भए होलान्
क–कसको पो मनोकामना पुरा गरुन्
भगवानले पनि सोच्दा हुन् – चवन्नी चढाएर लाखौंको सपना देख्छन् मुर्ख मनुष्यहरु !
भगवानले मतिर हेरेर केही सोधे जस्तो लाग्यो
“तँ के माग्न आइस त?”
“देशमा शान्ति छाओस् प्रभु !” मेरो मुखबाट अनायास निस्कन्छ
आशालाग्दो गरि म भगवानको मुहार नियाल्छु
भगवानको मुहार झनै मलिन भए झैं लाग्छ
निराश मनले म लुरुलुरु घर फर्कन्छु ।

फेब्रुवरी १, २००८

Thursday, March 26, 2020

तन्द्रा

आशाहरु क्षीण हुँदै जाँदा
आकांक्षाहरु सङ्कुचित हुँदै जाँदा
भावनाहरु विस्तारै मेटिदै गए झैं लाग्छ
तरङ्गहरु शिथिल भए झैं लाग्छ
जीवनको विविधताबाट,
आफूलाई अलग पाउँछु,
मानिसको भीडमा,
आफूलाई एक्लो पाउँछु
तथापि,
प्यासी नयन
तिम्रो एक झलकको लागि भौंतारिरहेको हुन्छ
थाहा छ,
हाम्रो सामिप्य दुर्लभ भैसकेको छ
तिम्रो सङ्गितमय स्वर कोलाहलमा विलिन भैसकेको छ,
तैपनि मन मान्दैन,
लाग्छ,
तिमी वरपर नै छौ
हरदम तिम्रो उपस्थितिको आभास हुन्छ
पन्छीको मृदुल स्वरमा तिम्रो आवाज गुञ्जिरहेको भान हुन्छ
तन्द्राबाट झल्याँस्स ब्युँझन्छु,
स्वप्न महल क्षणभर मै चकनाचुर हुन्छ
पुनः एकाङ्कीपनले सताउन थाल्छ
फेरि बिहानी हुन्छ,
अनि दिन.....निरस कठोर दिन.....उफ्...
किन किन,
आजभोलि उज्यालोदेखि डर लाग्न थालेको छ
मेरो लागि यो रात कहिल्यै नसिद्धिए हुन्थ्यो,
सपनामा जीउने बानी परेर होला,
मलाई रात प्यारो लाग्न थालेको छ ।

Friday, November 1, 2013

O My Dog !

Today, dogs are being honored all over the country for their sincere service to mankind. They are seen strutting on the street with tika, vermilion powder, on their forehead and flower garland on their neck, and the belly, that was empty previous day, now full of delicacies. Dogs might have wondering 'what went wrong with Nepalis that their heart suddenly filled with love and respect for us?'

 
Tihar, the festival of lights, is celebrated in Nepal for five days worshipping not only human and the Gods, but also animals like crow, dog and cow. Each day has its significance as the first day, also known as 'Kag Tihar', is observed by worshipping crows and offering them delicious meals. Crows are considered as the messenger of the Yama, Lord of Death. It is believed that their cawing would bring sadness and grief to the family. So they are worshipped to keep the sadness at bay.