Thursday, July 9, 2020

सन्नाटा

सधैंको कर्कश ध्वनी,
कोलाहल अनि अट्टहास,
सुन्ने बानी परेको कान
सन्नाटाले सन्न भएको छ
त्यो कोलाहल
हलचल
डौडाई
सबै बन्द भएको छ
बिस्तारै चराको चिरविर
प्रकृतिको चहलपहलले,
आफ्नो क्षेत्र विस्तार गर्दैछ
लाग्थ्यो, म नै सर्वैसर्वा हुँ
सबैलाई जित्न सक्छु
कान्छी औंलामा नचाउन सक्छु
त्यो अहम् चकनाचुर भयो
कत्रो दुःखले सिर्जना गरेको यो संरचना
निमेखको भरमा भताभुङ्ग हुदैछ
मेरो अस्तित्व नै संकटमा परेको छ
पछाडी फर्कन वाध्य भा’छु
अगाडी बढ्ने क्रममा,
आफु हिडेको बाटोको वास्ता नै गरेनछु
अहिले त्यही बाटो हिड्न गारो भा’छ
आजभोली त सन्नाटादेखि नि डर लाग्छ
आँधी आउनु अघिको,
त्रासदीपूर्ण सन्नाटा जस्तै,
अबके हुने हो
के दुःस्पप्न आउने हो
अधिर मन काँपिरहेको मुटुसंगै,
प्रतिक्षारत छु ।

Tuesday, July 7, 2020

याद

तिमीलाई सम्झिन्छु भन्छु
तर सम्झिन सक्दिन
खाली बिर्छन्छु
के भएको हो,
केही याद आउदैन
तिमीसित बिताएका ति हरेक क्षणहरु,
सबै बिर्सेछु
तिम्रो मधुर मुस्कान
तिम्रो निश्चल बोली
त्यो हावभाव
कुनै पनि याद आउदैन
सुन्दर तालको नजिक पुग्दा नि,
तिम्रो याद आउदैन
टहटह जूनको उज्यालोले नि,
तिम्रो आभास गराउदैन
मेरो स्मरण शक्ति क्षिण भएछ क्यारे
तिम्रो तस्विर मनमुटुमा कोर्ने प्रयास गर्छु
कतै तिम्रो झझल्को आइपोहाल्छ कि ?
बिपनामा सम्झिएन,
कतै सपनामा सम्झिन्छु कि ?
तर, सपनै नदेखेको नि धेरै दिन भयो
तिमीलाई सम्झिन त परै जावोस्
अन्तर कुन्तर केलाउँछु
तिम्रो याद आउने कुनै चिज छ कि ?
के छ के छैन त्यो नै थाहा छैन
जे होस्, सम्झे नि बिर्से नि,
सम्झिने प्रयास गरिरहन्छु
कुनै दिन याद आइपोहाल्छ कि ?

Thursday, May 28, 2020

म र तिमी

म
मात्र म
जे छ म मा छ
जे छैन म मा छैन
तिमी किन उदास हुन्छौ ?
आखिर म म हुँ तिमी तिमी हौ
हिजो म एक्लो थिएँ
आज म एक्लो छु
सायद भोली पनि म एक्लै हुन्छु
तिमी एक्लो छैन
तै पनि म तिमीलाई किन उदास देख्छु ?
अँ, मेरो हेराइ नै गलत छ की ?
म सोच्छु – म र तिमीलाई
कति फरक छ म र तिमी
मसँग म मात्र छ
तिमीसँग तिमी छ
म सोच्छु – म किन सोच्छु ?
आखिर सोचेर के फाइदा ?
तै पनि म सोच्न विवश हुन्छु
जहिले पनि सोच्दा तिमी अगाडि आउँछौ
वास्तवमा, तिमी म बाट टाढा छौ
तै पनि म कहिलेकांही तिमीलाई नजिक पाउँछु
म र तिमी विचको सामिप्यको अनुभुति हुन्छ
मनै मन गदगद हुन्छु
घरि सपना घरि विपना
म र तिमी विचको सामिप्य असम्भव लाग्छ
के थाहा भोली सपना साकार पो हुने हो की ?
नपत्याउने कुरा खोलाले बगाउँछ भन्छन्
जे होस्,
यो जनममा नभए नि,
अर्को जनममा त भइएला नि
तर तिमी सगैं हुन चाहन्छौ र ?
सायद चाहदैनौ
ठिकै छ म एक्लो नै हुन्छु
आखिर म सधैं एक्लै हो क्यारे
एक्लो हुनै रमाइलो
तर फेरि म किन सोच्छु ?
म सोच्छु – अबदेखि म सोच्दिन ।

Saturday, May 16, 2020

मानिस

तनावग्रस्त मुलुकका मानिसहरु
अकाल मृत्युको मुखमा पर्न वाध्य छन्
बन्दुकको कोलाहलपूर्ण सडक,
सन्नाटाले छाएको छ
मानिसको आवाज सुनिदैन त्यहाँ
उनीहरुको स्वतन्त्रता बमको धुवाँसंगै बिलाएको छ
अनि,
त्यहाँ मानवताको मुल्य हराइरहेको छ
भोक, रोग, उत्पिडन र नैराश्यताको जिन्दगी,
बिताइरहेका ति मानिसहरु,
जसलाई आफू कैदी हो वा कैद आफू भित्र छ – थाहा छैन
ति जिउँदा लासहरुलाई बाँचिरहेको भनिन्छ
तर, उनीहरु मरिरहेछन्, हरपल
आमा आफ्नो सन्तानको वियोगमा रोइरहेकिछिन्
नारीको अस्मिता लुटिएको छ
देश निर्माता बालबालिकाको भविष्य,
अन्धकारमा डुबाइएको छ त्यहाँ ।

Monday, April 13, 2020

आफ्नो मान्छे


को आफ्नो मान्छे
को अर्काको मान्छे
चिन्न गाह्रो हुँदोरैछ
भन्छन मिलन पछि विछोड हुन्छ
तर, आफुले आफ्नो सोचेको मान्छे अर्काको हुँदा
यस्तो लाग्छ,
मान्छे चिन्न साच्चिकै गाह्रो हुँदोरैछ
जन्मेर एकदिन त मर्नु नै छ
आफु बाच्नु मात्रै ठुलो कुरो हैन
अरुको लागि पनि बाच्नु जीवनको सार हो जस्तो लाग्छ
तर,
हिजो सम्म संगै भएको मान्छे,
आज टाढा हुँदा,
जीवनको परिभाषा नै गलत भए जस्तो लाग्छ ।

Wednesday, April 8, 2020

मौन प्रेम

म चाहुँ तिमीलाई कसरी
म नचाहुँ तिमीलाई कसरी
तिम्रा ति दुइ आँखा
पछ्याइरहन्छ हरदम
तिम्रा निश्चल बोली
गुञ्जिरहन्छ हरदम
सपनामा पनि बिपनामा पनि
तिम्रो याद आइरहन्छ हरदम
म सम्झु तिमीलाई कसरी
म बिर्सु तिमीलाई कसरी
अतित बेग्लै थियो
भविष्य थाहा छैन
बर्तमान अन्योल छ
चाहेर पनि म तिमीलाई चाहन सक्दिन
भुलेर पनि म तिमीलाई बिर्सन सक्दिन
मनको कुरा म पोखुँ कसरी ?

Sunday, April 5, 2020

अन्तिम लडाई

के भएको हो कुन्नी
आजकल नानाभाँती सोच्न थालेको छु
हैन, सोच्दिन भन्दा पनि सुख छैन
सोच्दा सोच्दा..........यसो सोच्छु
यो सोच्ने शक्ति नै नभइदिए हुन्थ्यो नि
भाव शुन्य, विचार शुन्य भैदिए हुन्थ्यो
तर, म आफुलाई अनन्त आकाशमा विचरण गरिरहेको पाउँछु
झिलिमिली तारा, नक्षत्रहरुको सामिप्यमा रमाउन थाल्छु
जहाँ समयको कुनै पावन्दी छैन
नीयमको कुनै परिधि छैन
जीवनको कुनै परिभाषा छैन
स्वतन्त्र, स्वच्छन्द उडिरहेको हुन्छु
हरपर नयाँ उत्साह, नयाँ उमङ्ग मनभित्र छाइरहेको हुन्छ
एक तारामण्डलबाट अर्को तारामण्डल झन् झन् वेगले कुदिरहेको हुन्छु
अनायस म आकाशबाट धर्तीमा बजारिन पुग्छु
भागेर गएको कैदी पुनः जेलमा परेको जस्तो महशुस हुन्छ
चारै तिर अग्ला पर्खाल उभिएको छ
आफु नेल र सिक्रीमा जकडिएको अनुभव गर्छु
उकुस मुकुस हुन्छ
यो सिक्री चुडाउन मन लाग्छ
यो पर्खाल भत्काउन मन लाग्छ
म यो कैदबाट मुक्त हुन चाहन्छु
स्वतन्त्र हुन चाहन्छु
मन उद्वेलित हुन्छ
आत्मा आन्दोलित हुन्छ
शरिर भरी रक्त सञ्चार तेज हुन्छ
यस्तो लाग्छ,
मैले आफ्नो अन्तिम लडाई लड्दैछु ।