Thursday, July 9, 2020

सन्नाटा

सधैंको कर्कश ध्वनी,
कोलाहल अनि अट्टहास,
सुन्ने बानी परेको कान
सन्नाटाले सन्न भएको छ
त्यो कोलाहल
हलचल
डौडाई
सबै बन्द भएको छ
बिस्तारै चराको चिरविर
प्रकृतिको चहलपहलले,
आफ्नो क्षेत्र विस्तार गर्दैछ
लाग्थ्यो, म नै सर्वैसर्वा हुँ
सबैलाई जित्न सक्छु
कान्छी औंलामा नचाउन सक्छु
त्यो अहम् चकनाचुर भयो
कत्रो दुःखले सिर्जना गरेको यो संरचना
निमेखको भरमा भताभुङ्ग हुदैछ
मेरो अस्तित्व नै संकटमा परेको छ
पछाडी फर्कन वाध्य भा’छु
अगाडी बढ्ने क्रममा,
आफु हिडेको बाटोको वास्ता नै गरेनछु
अहिले त्यही बाटो हिड्न गारो भा’छ
आजभोली त सन्नाटादेखि नि डर लाग्छ
आँधी आउनु अघिको,
त्रासदीपूर्ण सन्नाटा जस्तै,
अबके हुने हो
के दुःस्पप्न आउने हो
अधिर मन काँपिरहेको मुटुसंगै,
प्रतिक्षारत छु ।

Tuesday, July 7, 2020

याद

तिमीलाई सम्झिन्छु भन्छु
तर सम्झिन सक्दिन
खाली बिर्छन्छु
के भएको हो,
केही याद आउदैन
तिमीसित बिताएका ति हरेक क्षणहरु,
सबै बिर्सेछु
तिम्रो मधुर मुस्कान
तिम्रो निश्चल बोली
त्यो हावभाव
कुनै पनि याद आउदैन
सुन्दर तालको नजिक पुग्दा नि,
तिम्रो याद आउदैन
टहटह जूनको उज्यालोले नि,
तिम्रो आभास गराउदैन
मेरो स्मरण शक्ति क्षिण भएछ क्यारे
तिम्रो तस्विर मनमुटुमा कोर्ने प्रयास गर्छु
कतै तिम्रो झझल्को आइपोहाल्छ कि ?
बिपनामा सम्झिएन,
कतै सपनामा सम्झिन्छु कि ?
तर, सपनै नदेखेको नि धेरै दिन भयो
तिमीलाई सम्झिन त परै जावोस्
अन्तर कुन्तर केलाउँछु
तिम्रो याद आउने कुनै चिज छ कि ?
के छ के छैन त्यो नै थाहा छैन
जे होस्, सम्झे नि बिर्से नि,
सम्झिने प्रयास गरिरहन्छु
कुनै दिन याद आइपोहाल्छ कि ?