Monday, April 13, 2020

आफ्नो मान्छे


को आफ्नो मान्छे
को अर्काको मान्छे
चिन्न गाह्रो हुँदोरैछ
भन्छन मिलन पछि विछोड हुन्छ
तर, आफुले आफ्नो सोचेको मान्छे अर्काको हुँदा
यस्तो लाग्छ,
मान्छे चिन्न साच्चिकै गाह्रो हुँदोरैछ
जन्मेर एकदिन त मर्नु नै छ
आफु बाच्नु मात्रै ठुलो कुरो हैन
अरुको लागि पनि बाच्नु जीवनको सार हो जस्तो लाग्छ
तर,
हिजो सम्म संगै भएको मान्छे,
आज टाढा हुँदा,
जीवनको परिभाषा नै गलत भए जस्तो लाग्छ ।

Wednesday, April 8, 2020

मौन प्रेम

म चाहुँ तिमीलाई कसरी
म नचाहुँ तिमीलाई कसरी
तिम्रा ति दुइ आँखा
पछ्याइरहन्छ हरदम
तिम्रा निश्चल बोली
गुञ्जिरहन्छ हरदम
सपनामा पनि बिपनामा पनि
तिम्रो याद आइरहन्छ हरदम
म सम्झु तिमीलाई कसरी
म बिर्सु तिमीलाई कसरी
अतित बेग्लै थियो
भविष्य थाहा छैन
बर्तमान अन्योल छ
चाहेर पनि म तिमीलाई चाहन सक्दिन
भुलेर पनि म तिमीलाई बिर्सन सक्दिन
मनको कुरा म पोखुँ कसरी ?

Sunday, April 5, 2020

अन्तिम लडाई

के भएको हो कुन्नी
आजकल नानाभाँती सोच्न थालेको छु
हैन, सोच्दिन भन्दा पनि सुख छैन
सोच्दा सोच्दा..........यसो सोच्छु
यो सोच्ने शक्ति नै नभइदिए हुन्थ्यो नि
भाव शुन्य, विचार शुन्य भैदिए हुन्थ्यो
तर, म आफुलाई अनन्त आकाशमा विचरण गरिरहेको पाउँछु
झिलिमिली तारा, नक्षत्रहरुको सामिप्यमा रमाउन थाल्छु
जहाँ समयको कुनै पावन्दी छैन
नीयमको कुनै परिधि छैन
जीवनको कुनै परिभाषा छैन
स्वतन्त्र, स्वच्छन्द उडिरहेको हुन्छु
हरपर नयाँ उत्साह, नयाँ उमङ्ग मनभित्र छाइरहेको हुन्छ
एक तारामण्डलबाट अर्को तारामण्डल झन् झन् वेगले कुदिरहेको हुन्छु
अनायस म आकाशबाट धर्तीमा बजारिन पुग्छु
भागेर गएको कैदी पुनः जेलमा परेको जस्तो महशुस हुन्छ
चारै तिर अग्ला पर्खाल उभिएको छ
आफु नेल र सिक्रीमा जकडिएको अनुभव गर्छु
उकुस मुकुस हुन्छ
यो सिक्री चुडाउन मन लाग्छ
यो पर्खाल भत्काउन मन लाग्छ
म यो कैदबाट मुक्त हुन चाहन्छु
स्वतन्त्र हुन चाहन्छु
मन उद्वेलित हुन्छ
आत्मा आन्दोलित हुन्छ
शरिर भरी रक्त सञ्चार तेज हुन्छ
यस्तो लाग्छ,
मैले आफ्नो अन्तिम लडाई लड्दैछु ।

Friday, April 3, 2020

गित

निर्दोष तिम्रो परेलीमा सपना धेरै देखें मैले
सुनसान रातमा कल्पी कल्पी चाहना धेरै गरें मैले

बसन्तको बहार सरी मायाँ फैलाउँला
फूलको थुंगा फक्रे सरी खुसी फिजाउँला
सुन्दर मुहार हेरी तिम्रो जीवन बिताउँला
मुटुभरी माँया सजाई हाँसी खुसी बाँचुला

निर्दोष तिम्रो ................
सुनसान रातमा ............

जीवनका पाना भरी स्वप्निल रङ्ग पोतिदिन्छु
शब्द तिम्रो कुँदिकन प्रेम गित गाईदिन्छु
माँयाको यो संसारमा खुसीको बहार ल्याईदिन्छु
साथ दिने बाचा गर्दै सिउँदो तिम्रो सजाइदिन्छु

निर्दोष तिम्रो ................
सुनसान रातमा ............

Thursday, April 2, 2020

अभिलाषा

बाटुलो मुहार
मदहोश हेराइ
आँखामा प्रेम छचल्कियोस्
म उसलाई विश्वास गर्न सकुँ
उसले मेरो आत्मसम्मानको रक्षा गरोस्
तिरस्कार हैन, प्रेम गरोस्
घात हैन, विश्वास गरोस्
यो घर आँगन, बस्ती, सखी संगिनीलाई चटक्क छाडेर,
विरान मुलुक त जानै छ
त्यो अञ्जान ठाँउ
ति अपरिचितहरु
त्यो अन्योल वातावरण
सबै क्षण भरमा नै चिर परिचित होस्
जीवनको नयाँ बिहानी,
सुखमय होस् उल्लासमय होस्
म उसलाई आफ्नो भन्न सकुँ
उसले मलाई आफ्नो भनोस्
मेरो जीवनसाथी,
जीवन भरी कै साथी होस् ।

Wednesday, April 1, 2020

कविताको जीवन

कविता नलेखे नि हुने हो
तर कहिले कांहीं के लहड चल्छ
अनायास शब्दहरु थुप्रिन पुग्छ
यि शब्दहरु के का लागि
कविता किन लेख्छु,
मलाई थाहा छैन
कहिले काहीं म सोच्छु,
कविले पो कविता लेख्छ
म त कवि होइन
साच्चै भन्ने हो भने,
कविताको परिभाषा नै थाहा छैन मलाई
जीवनको परिभाषा थाहा नभए जस्तै
तर, शब्दहरु कोर्दा एक प्रकारको आनन्द चाहीं आउने रहेछ
शब्दहरु कहाँ गएर टुङ्गिने हो,
थाहा नहुँदो रहेछ
खोला बगे जस्तै शब्दहरु पनि बग्न थाल्छ
सायद जीवनको वहाव पनि यस्तै हुँदो हो
अनिश्चित, अनियन्त्रित
आफुले सोचे जसरी शब्द नटुङ्गिन पनि सक्छ
आऽऽ शब्द कहाँ गएर टुङ्गिन्छ,
कसरी टुङ्गिन्छ भनेर,
किन चिन्ता लिइरहने ?
आफु सोचे जसरी शब्द टुङ्गे, राम्रै भयो
नभए पनि शब्द कोर्ने क्रममा आनन्द त लिई हालें नि
शब्दै शब्दको थुप्रो लाग्ने हो
या, सुन्दर कविता बन्ने हो
त्यो त पछि थाहा होला ।