Wednesday, April 1, 2020

कविताको जीवन

कविता नलेखे नि हुने हो
तर कहिले कांहीं के लहड चल्छ
अनायास शब्दहरु थुप्रिन पुग्छ
यि शब्दहरु के का लागि
कविता किन लेख्छु,
मलाई थाहा छैन
कहिले काहीं म सोच्छु,
कविले पो कविता लेख्छ
म त कवि होइन
साच्चै भन्ने हो भने,
कविताको परिभाषा नै थाहा छैन मलाई
जीवनको परिभाषा थाहा नभए जस्तै
तर, शब्दहरु कोर्दा एक प्रकारको आनन्द चाहीं आउने रहेछ
शब्दहरु कहाँ गएर टुङ्गिने हो,
थाहा नहुँदो रहेछ
खोला बगे जस्तै शब्दहरु पनि बग्न थाल्छ
सायद जीवनको वहाव पनि यस्तै हुँदो हो
अनिश्चित, अनियन्त्रित
आफुले सोचे जसरी शब्द नटुङ्गिन पनि सक्छ
आऽऽ शब्द कहाँ गएर टुङ्गिन्छ,
कसरी टुङ्गिन्छ भनेर,
किन चिन्ता लिइरहने ?
आफु सोचे जसरी शब्द टुङ्गे, राम्रै भयो
नभए पनि शब्द कोर्ने क्रममा आनन्द त लिई हालें नि
शब्दै शब्दको थुप्रो लाग्ने हो
या, सुन्दर कविता बन्ने हो
त्यो त पछि थाहा होला ।

No comments:

Post a Comment