Thursday, March 26, 2020

तन्द्रा

आशाहरु क्षीण हुँदै जाँदा
आकांक्षाहरु सङ्कुचित हुँदै जाँदा
भावनाहरु विस्तारै मेटिदै गए झैं लाग्छ
तरङ्गहरु शिथिल भए झैं लाग्छ
जीवनको विविधताबाट,
आफूलाई अलग पाउँछु,
मानिसको भीडमा,
आफूलाई एक्लो पाउँछु
तथापि,
प्यासी नयन
तिम्रो एक झलकको लागि भौंतारिरहेको हुन्छ
थाहा छ,
हाम्रो सामिप्य दुर्लभ भैसकेको छ
तिम्रो सङ्गितमय स्वर कोलाहलमा विलिन भैसकेको छ,
तैपनि मन मान्दैन,
लाग्छ,
तिमी वरपर नै छौ
हरदम तिम्रो उपस्थितिको आभास हुन्छ
पन्छीको मृदुल स्वरमा तिम्रो आवाज गुञ्जिरहेको भान हुन्छ
तन्द्राबाट झल्याँस्स ब्युँझन्छु,
स्वप्न महल क्षणभर मै चकनाचुर हुन्छ
पुनः एकाङ्कीपनले सताउन थाल्छ
फेरि बिहानी हुन्छ,
अनि दिन.....निरस कठोर दिन.....उफ्...
किन किन,
आजभोलि उज्यालोदेखि डर लाग्न थालेको छ
मेरो लागि यो रात कहिल्यै नसिद्धिए हुन्थ्यो,
सपनामा जीउने बानी परेर होला,
मलाई रात प्यारो लाग्न थालेको छ ।

No comments:

Post a Comment