Sunday, March 29, 2020

अभाव

विस्मित मुद्रामा अभाव चियाउँछ
आफैमा बोझ बन्दै शून्यतामा घोरिन्छ
मानिसको मृगतृष्णालाई लाचार पशु झैं चुपचाप सहन्छ
उफ्,
जहाँ सभ्यता विकसित हुन्छ
त्यहाँ जीवनको कुनै मुल्य नै छैन
आकाश र धर्ती बीचको विशाल क्षितिज,
प्राणीको जीवनदर्शक –
अभिशप्त आत्माहरुको कोलाहल बीच मौन छ
उत्कृष्ट मौलिकताहरु शब्दजालमा बन्द रहन्छन्
या पारदर्शक आवरणबाट छिरेर जान्छ
गुनगुन मौरी भुनभनाए झैं सुनिन्छ
आपसमा कानेखुसी गरिरहन्छ
किनभने,
ती अमर कथाहरु प्राचीन भैसके
ती जीवनदर्पणहरु चकनाचुर भएर मिल्किसके
अनि,
केवल तिरस्कृत आत्माहरुको प्रतिविम्व त्यहाँ झल्किन्छ
चिसो हावा चल्छ
एउटा धुमिल बत्ति पनि निभ्छ
सुखा पातहरु जाडोले थुरर्र काम्छन्
भोको पन्छीहरु वेदनाले चिं चिं गर्न थाल्छन्
सास रोकेर अँध्यारो कुनाबाट अभाव चियाइरहेको हुन्छ ।

No comments:

Post a Comment