Friday, March 27, 2020

शान्ति

आजकल हरेक बिहान उठ्दा
मनभित्र एक प्रकारको डर पैदा भैरहेको हुन्छ
आज कुन अशुभ समाचार सुन्नु पर्ने हो
त्रास छाइरहेको हुन्छ
खबरपत्रिका उठाउँदा पनि हात कामिरहेको हुन्छ
मनमनै प्रार्थना गर्छु
कुनै अप्रिय खबर पढ्नु नपरोस्
कुनै दुःखत समाचार सुन्न नपरोस्
अबफेरि,
कुनै आमा आफ्नो सन्तानको वियोगमा रुन नपरोस्
कुनै चेलीले आफ्नो अस्मिता गुमाउन नपरोस्
तर, मेरो आशा विपरित
हर दिन, हर क्षण
रोदन, चित्कार र आर्तनाद सुन्नुपरेको छ
मन अशान्त हुन्छ
म शान्तिको खोजीमा भौतारिदैं हिड्छु
हिड्दा हिड्दै मन्दिरमा पुग्छु
मन्दिर नजिकै खोला, अनि खोला पारी हरियो वन
आहा ! क्या रमणीय स्थल
हावाको मीठो झोंकाले मन शान्त हुन्छ
मन्दिरमा भक्तहरुको भिड देख्छु
भक्तिमा शक्ति हुन्छ भन्छन्
यही शक्तिले मानिस भित्रका रिस, अहङ्कार, द्वेषलाई परास्त गर्छन क्यार
राम्रै कुरो हो
म उनिहरुको नजिकै पुग्छु
मलाई उनीहरुको भक्तिपूर्ण भाव पढ्न मन लाग्छ
मेरो अगाडि उभिने भक्तले भगवानको पाउमा केही सिक्का चढाउँदै –
भगवानसँग आलिशान बङ्गलाको आशा गर्छ
दायाँ तिर उभिने अर्को भक्तले त्यसरी नै राम्रो जागिरको अपेक्षा गर्छ
मेरो कौतुहलता बढ्दै जान्छ
म भक्तहरुको अनुहार नियाल्दै जान्छु
अर्को भक्तले भगवानको आशीर्वादले विदेश जाने सपना बुनिरहेको हुन्छ
तन्नेरी देखिने एक भक्तले परीक्षामा पास हुन पाउँ भनि बिलौना गरिरहेको छ
भक्तहरुको भेषमा भिखारीहरुको पो भिड रहेछन्
यसो मुन्टो उठाएर भगवानतिर नजर पुर्‍याउँछु
भगवानको मुहार मलिन देख्छु
अरुबेलामा त तेजस्वी देखिन्थ्यो
भगवान पनि आजित भए होलान्
क–कसको पो मनोकामना पुरा गरुन्
भगवानले पनि सोच्दा हुन् – चवन्नी चढाएर लाखौंको सपना देख्छन् मुर्ख मनुष्यहरु !
भगवानले मतिर हेरेर केही सोधे जस्तो लाग्यो
“तँ के माग्न आइस त?”
“देशमा शान्ति छाओस् प्रभु !” मेरो मुखबाट अनायास निस्कन्छ
आशालाग्दो गरि म भगवानको मुहार नियाल्छु
भगवानको मुहार झनै मलिन भए झैं लाग्छ
निराश मनले म लुरुलुरु घर फर्कन्छु ।

फेब्रुवरी १, २००८

No comments:

Post a Comment